हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
बिर्तामोड । झापामा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् ।
शिवसताक्षी नगरपालिका-११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।
दुई वटाको संख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए । प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।