डीएसपी कार्कीलाई सम्मान तथा विदाई
बिर्तामोड। जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी उपरीक्षक सुरज कार्कीलाई सम्मान तथा विदाई गरेको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको अगुवाइमा चार दर्जन बढी संघसंस्थाले कार्कीलाई सम्मान तथा विदाई गरेका हुन् ।
मङ्गलबार बिर्तामोड उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कार्कीलाई सम्मान गरिएको थियो । विगत १४ महिनादेखि इलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखको रूपमा कार्यरत कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएको छ । कार्कीले बिर्तामोडमा रहँदा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै सम्मान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले कार्कीको थप सफलताको कामना गरेका थिए । कार्कीलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।