संयम भएर होली मनाउन झापा प्रहरीको आग्रह, सुरक्षा व्यवस्था कडा
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले होली संयमतापूर्वक मनाउन आग्रह गरेको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै माइकिङ, सामाजिक सञ्जाल आदिबाट प्रहरीले सर्वसाधारणलाई होली सभ्य भएर मनाउन आग्रह गरेको हो ।
‘यो सामाजिक मेलमिलापको पर्व हो, यसलाई सभ्य, शिष्ट र मर्यादित ढंगबाट मनाउने कुरामा हामीले आग्रह गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले भने, ‘हामीले जिङ्गल बजाएका छौँ, माइकिङ गरेका छौँ, सामाजिक सञ्जालहरु मार्फत आग्रह गरेका छौँ ।’
होलीमा कसैले जबर्जस्ती रङ्ग दलेमा कानुनी कारबाहीसमेत गरिने उनले बताए । सुरक्षा व्यवस्थालाई चुस्त बनाउन पाँच सय प्रहरी परिचालन गरिएको उनले बताए । मुख्य तथा भित्री सडकहरुमा चेकजाँचलाई कडा बनाइएकोसमेत उनले जानकारी दिए ।
यता मादक पदार्थ सेवन गरेर, क्षमताभन्दा बढी मानिस राखेर सवारी चलाउँदा दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले समेत चेकजाँचलाई कडा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए । झापामा ७५ जना ट्राफिक प्रहरी खटाइएको उनले बताए । जनपथ प्रहरीसँगको समन्वयमा सडक जाँचलाई चुस्ता राखिएको उनको भनाई छ ।