बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण
बिर्तामोड । इलाम नगरपालिका वडा नम्बर–४ ले बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमका बिच कृषकलाई बिउ वितरण गरेको हो ।
बाँदर प्रभावित कृषकलाई बैकल्पिक खेती गराउने उद्धेश्यले बेसारको बिउ बितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । वडाका १७० जना कृषकलाई रैथाने जातको ५०० किलो बेसारको बिउ वितरण गरिएको वडाध्यक्ष दुलालले बताए ।
बेसार खेतीमा बाँदरले क्षति गर्न नसक्ने भएकाले कृषकलाई नोक्सान नहुने उनले बताए । बेसारको आयुर्वेदिक महत्व हुनुका साथै हाम्रो दैनिक उपभोग्य वस्तुसमेत भएकाले बजारको समस्या नहुने उनको भनाई छ ।
वडाले चालु आवमा किसानलाई १३०० किलो मकैको बिउ, ७०० किलो गहुको बिउ, १०० किलो लोकल तोरीको बीउ, १७० मन जनक देव आलुको बिउ वितरण गरिसकेको वडाध्यक्ष दुलालले जानकारी दिए । इलाम नगरपालिका तथा वडा कार्यालयले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
वडा कार्यालयले बिउ वितरण गरेपछि निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गरेको कृषकहरुले प्रतिक्रिया दिएका छन् ।
वडा कार्यालयले वितरण गरेको बिउबाट स्थानीय कृषक मेघराज लुईटेलले आधा किलोको आलु फलाएका थिए ।