सशस्त्र प्रहरीले शुरु गर्यो सीमा पैदल यात्रा
बिर्तामोड । नेपाल–भारत सीमामा बसोबास गर्ने नेपाली नागरिकहरुसँग सम्बन्ध विस्तार गर्ने उद्धेश्यले झापामा सशस्त्र प्रहरीले सीमा पैदल यात्रा शुरु गरेको छ । बुधबार मेचीनगर–७ को धनकुटे बस्तीस्थित सीमा स्तम्भ नम्बर ९१/१ बाट सशस्त्र प्रहरीले यात्रा शुरु गरेको हो ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत नेपाल–भारत सीमा ईलाका र सीमा स्तम्भहरुको अनुगमन गर्न, स्थानीयवासीहरुको समस्या र गुनासोहरुको जानकारी लिन, नागरिक र सुरक्षाकर्मीविच सकारात्मक सम्वन्ध स्थापित गर्न तथा सीमाबासीहरुसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राईले जानकारी दिए ।
गणपति राईले सशस्त्र प्रहरी बल नेपालको महत्वपूर्ण जिम्मेवारी अन्तर्गत दशगजा तथा सीमा स्तम्भहरुको सुरक्षा तथा अभिलेख व्यवस्थापन, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिनाकुमारी पोख्रेल (उप्रेती), प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमा जोडिएका २१ वडाहरुमा सीमा सहजीकरण समिति गठन भई कार्य गर्दै आएको छ ।
सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको प्रभावकारी उपस्थिती तथा सीमाबासीसँग सहकार्य गर्ने उद्धेश्यले २३औं सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा कल्याणकारी सेवा केन्द्रमार्फत सीमा क्षेत्रमा बसोवास गर्ने आदिवासी, जनजाती, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र, वर्ग एवम् सीमान्तकृत समुदायका छात्राछात्र मध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिकवृत्ति र २ जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४.५ प्रतिशत ब्याजदरमा न्युनतम ५ लाख देखि १० लाख सम्म सहुलियत आवास कर्जा उपलब्ध गराईने योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए ।