मोटरसाइकल दुर्घटना हुँदा बुद्धशान्तिका मगरको मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–१ निवासी ३३ बर्षीय धर्मेन्द्र सिजाली मगर रहेका छन् ।
बुधबार दिउँसो ३:२० बजे बुद्धशान्ति–१ नमुना चौकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने मगरको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेर घाईते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३:४० बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार ईलाम रोङ–१ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गम्भीर अवस्थाका राईको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।