लागू औषध सम्बन्धि अभिमुखीकरणमा लक्षित सहभागी न्यून
बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय पालिका एवम् संघसंस्थाका पदाधिकारी लक्षित लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रममा लक्षित सहभागि न्यून देखिएको छ । कार्यक्रममा झापाका चार पालिका प्रमुख र पाँच उपप्रमुखको मात्र सहभागिता रहेको थियो ।
मंगलबार अतिथी सदनमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन, मेचीनगरका गोपालचन्द्र बुढाथोकी र भद्रपुरका प्रमुख गणेश पोखरेल उपस्थित भएका थिए । मेचीनगरका प्रमुख बुढाथोकी कार्यक्रम सकिनु अगावै निस्किएका थिए भने भद्रपुरका प्रमुख पोखरेल केहि ढिलो गरी कार्यक्रम हलमा प्रवेश गरेका थिए ।
त्यस्तै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, गौरीगञ्ज उपप्रमुख पुजन न्यौपाने, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाई उपप्रमुख आशा शिवाकोटी र हल्दिबारी उपप्रमुख लक्ष्मीदेवि मैनाली उपस्थित थिइन् ।
बिर्तामोडलगायत केहि पालिकाका वडाध्यक्ष तथा जनप्रतिनिधी र केहि संघसंस्थाका प्रतिनिधीहरु कार्यक्रममा सहभागि थिए । कार्यक्रममा बाक्लो संख्यामा जनपथ तथा सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।
लागू औषध नियन्त्रणमा स्थानीय तहको समेत सहभागिता र भूमिकाको बिषयमा अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको लागू औषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा समेत लागू औषधसम्बन्धि कार्यका लागि स्थानीय तहहरुको भूमिका उल्लेख गरिएको उनले जानकारी दिए ।
पछिल्लो तथ्याङ्क हेर्दा लागू औषध दुर्व्यसनको अवस्था भयानक बन्दै गएकाले अभिभावकहरुको भूमिका अहम् हुनुका साथै स्थानीय तहले यसको नियन्त्रण, रोकथाम, अनुसन्धान र सहभागितामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने व्युरो प्रमुख थपलियाले धारणा व्यक्त गरे । उनले लागू औषधसम्बन्धि विभिन्न तथ्याङ्क, कार्यविधि तथा रणनीतिहरुका बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बरालले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले स्वागत गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, अरिदमन गण चारआलीका प्रमुख प्राजु बस्नेतलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम लागू औषध नियन्त्रण व्युरो काठमाण्डौको आयोजनामा सम्पन्न भएको थियो ।