२०८३ बैशाख २० गते , आईतबार

महजोडीलाई ‘आदर्श नागरिक सम्मान’ समर्पण गरिने

sajilo news
परिवेश मिडिया
२०८० चैत्र ६ गते , मंगलबार
महजोडीलाई ‘आदर्श नागरिक सम्मान’ समर्पण गरिने

बिर्तामोड । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई झापामा आदर्श नागरिक सम्मान समर्पण गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले उनीहरुलाई संयुक्तरुपमा उक्त सम्मान प्रदान गर्न लागेको हो ।
प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो ।  
प्रतिष्ठानले पूर्ण–टुंग स्मृति प्रतिष्ठानको सहयोगमा महजोडीलाई चैत्र ७ गते बिर्तामोडमा ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान २०८०’ समर्पण गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सम्मानित आदर्श नागरिकलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसमेत प्रदान गरिने छ । 
२०५५ सालमा स्थापना भएको प्रतिष्ठानले संयोजन गरेर एक सयभन्दा बढी विद्यार्थीलाई स्तरीय र निःशुल्क शिक्षा प्रदान गर्दै आएको जनाएको छ । प्रतिष्ठानले हालै इलाममा विभिन्न विधाका प्रतिभाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिसकेको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले साविक मेची अञ्चलका जिल्लाका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको उपाध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए ।
कार्यक्रममा अग्रज सामाजिक ब्यक्तित्वहरु मदनगोपाल सुब्बा , जितेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले गरेका थिए ।

सम्बन्धित समाचार