तीन जना सवार मोसा र साइकल ठोक्किँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते
बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
तीनजना सवार मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री गौरीगञ्ज–३ बस्ने अन्दाजी ४० वर्षीय अकालु माझीको मृत्यु भएको हो । राति सवा ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो । ठक्करबाट साईकलयात्री माझीको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भइ उपचारका लागि बीएण्डसी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज–१ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो, अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गम्भीर घाइते भएका छन् । घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड, रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलमा तीनजना सवार रहेकोमा तीमध्ये चालक को हुन् भनेर नखुलेको, मोटरसाइकल र साईकल प्रहरी चौकी कुञ्जिवारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव बीएण्डसी अस्पतालमा रहेको छ ।