दलित महिलाका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं १० मा ‘नेतृत्व विकास र उदघोषण कला’ तालिम शुरु भएको छ । बिर्तामोड १० का दलित महिलालाई लक्षित गरी तीन दिवसीय नेतृत्व विकास र उदघोषण कला तालिम शुरु भएको हो ।
नारी संचार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं १० को सहयोगमा शनिबारबाट तालिम शुरु गरिएको हो । वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्योधन गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष गुरुङले सबैले क्षमतावान् हुनुपर्नेमा जोड दिंदै अवसरलाई भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गरे । महिलाहरुको क्षमता र सीप विकासका लागि वडाले निरन्तर लगानी गरेको जानकारी दिंदै लगानीलाई सार्थक बनाउनका लागि सम्बन्धित पक्ष पनि जागरुक हुनुपर्नेमा जोड दिए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई वडाध्यक्ष गुरुङले आग्रह गरे ।
वडा सदस्य दिपिका शिवाले महिलाहरूले सधैं घर परिवार, सन्तानको रेखदेख तथा अन्य व्यवहारिक काममा समय खर्च गर्ने तर आफ्नो क्षमता विकासका लागि कहिले पनि नसोच्ने गरेका कारण महिलाहरु पछि परेको बताउँदै पारिवारिक जिम्मेवारीका साथै आफ्नो क्षमता र दक्षता अभिवृद्धिका लागि समय छुट्याउन सहभागीलाई आग्रह गरिन् ।
नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्य पृथ्वीबहादुर बस्नेत लगायतको आतिथ्य रहेको तालिममा २६ जना महिलाहरुको सहभागिता रहेको छ ।
नारी सञ्चार गृहकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको तालिममा सहभागीहरुलाई स्वागत जोसना श्रेष्ठले गरेकी थिइन् । पहिलो दिनको तालिमको सहजीकरण नारी संचार गृह झापाकी निर्वतमान अध्यक्ष भिमा शिवाकोटीले गरेको तालिम आयोजक संस्थाकी सदस्य सञ्जु शिवाकोटीले जानकारी दिइन ।
नारी संचार गृहले महिला पत्रकारका साथै अन्य विभिन्न क्षेत्र र समुदायका महिलाको शसक्तिकरण, बालबालिका र सार्वजनिक सरोकारका विषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।