सहमति विपरित मेला सञ्चालन, विद्यार्थीको पढाईमा असर पुगेको गुनासो
बिर्तामोड । बिर्तामोडको सैनिकमोडस्थित मेची आँखा अस्पताल नजिकै सञ्चालन भइरहेको तेस्रो सडक फुड फेस्टिबल सहमति विपरित सञ्चालन भइरहेको पाइएको छ ।
उक्त महोत्सव वडा कार्यालय, राजनीतिक दल, विद्यार्थी संघ संगठनका प्रतिनिधीलगायतसँगको सहमति विपरित सञ्चालन भइरहेको पाइएको हो । फागुन १५ गते बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा वडा कार्यालयमा भएको सर्वपक्षीय बैठकमा आयोजकले चैत्र ७ गतेसम्म महोत्सव सञ्चालन गर्ने अनुमति लिएपनि फागुन २८ गते अपरान्हसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का झापा अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।
अखिल क्रान्तिकारीका झापा अध्यक्ष रञ्जन धमलाले सामाजिक सञ्जाल फेसबुकमा सर्वपक्षीय माइन्युटको डिजिटल कपी नै राखेर महोत्सवका कारण विद्यार्थीको बार्षिक परीक्षामा यसले गम्भिर असर पर्ने भएकाले तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
विद्याथीहरुको अन्तिम परीक्षा नजिकै आएका कारण महोत्सवबाट सिर्जना हुने ध्वनीले पढाईमा असर गर्ने भएकाले सो सहमति गर्नु परेको राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् । मेला आयोजकले सर्वपक्षीय सहमति विपरित अगाडी बढेका कारण त्यसबाट सिर्जना हुने असहज परिस्थितीको जिम्मेवारी आयोजकले लिनु पर्ने उनले बताइन् ।
यता होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले सर्वपक्षीय छलफलमा २९ गतेसम्म सञ्चालन गर्ने सहमति भएपनि माइन्युटमा २८ गते भएको र २८ गते झापा गोल्डकपको फाइनलका कारण कलाकार ल्याउन नसकिएकाले एक दिन सार्नु परेको बताइन् । चैत्र ७ गतेसम्म अनुमति लिइएपनि आजैबाट मेला समापन गर्ने उनले बताइन् ।
महोत्सव कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले फागुन १७ गते उद्घाटन गरेका थिए । होटल व्यवसायी संघ झापाको व्यानरमा भइरहेको महोत्सव सयपत्री इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।