२०८३ बैशाख २० गते , आईतबार
३० घण्टापछि प्लाइउड फ्याक्ट्रीको आगो ९० प्रतिशत नियन्त्रणमा
बिर्तामोड । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार विहान ५ः१५ बजेदेखि लागेको आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ ।
सोमबार दिनभर नेपाली सेना, प्रहरी तथा स्थानीयबासीले एउटा भारतीयसहित १० वटा दमकलको सहायताले आगो निभाउने प्रयास गरेका थिए । मंगलबारसमेत कमल गाउँपालिका, बिर्तामोड, मेचीनगर र दमक नगरपालिकाको दमकलले आगो निभाउने प्रयत्न गरिरहेको भएपनि ९० प्रतिशतमात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उद्योगमा रहेको कच्चा पदार्थ (गोलिया) धेरै भएको र उद्योगको चारै तर्फ दमकल जान नसकेका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
आगलागीको कारण र क्षतिको विवरण एकिन भइ नसकेको प्रहरीले जनाएको छ ।