प्लाइउड फ्याक्ट्रीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
बिर्तामोड । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान ५:१५ बजेदेखि लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको हो ।
आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । ‘आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने ।
थप दमकल ल्याउने विषयमा सीमावर्ती भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको उनले बताए ।
उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी वस्तु भने जोगिएको उनले बताए ।
फ्याक्ट्रीको चारै तिर दमकल जना नसकेका कारणपनि आगो नियन्त्रणमा समस्या भएको उनले जानकारी दिए ।
आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।