पहिलो ओलम्पियन महिला मेनुका राउत सम्मानित
बिर्तामोड । पहिलो झापाली ओलम्पियन महिला मेनुका राउतलाई सम्मान गरिएको छ । वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवले राउतलाई ‘उत्कृष्ट नारी सम्मान’ द्वारा सम्मान गरेको हो ।
नारी दिवसको अवसरमा आज बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी ओलम्पिक खेलमा पहिलो पटक एथलेटिक्स खेलका लागि सहभागी राउतलाई सम्मान गरिएको हो ।
मेचीनगर-७ झापा निवासी मेनुका सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा पहिलो पटक सहभागी भएकी थिइन् ।
मेनुकाले १२ वटा अन्तर्राष्ट्रिय तथा ६ वटा राष्ट्रिय एथ्लेटिक्स खेलमा सहभागी भएर विभिन्न पदक प्राप्त गरेकीछन् । उनले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिइन् ।
झापामा रहेका जेसीज शाखाहरु र चार दर्जन बढी महिला संघसंस्थाहरुको एक्यवद्धतामा मेनुकालाई सम्मान गरिएको थियो ।
पूर्व अध्यक्ष क्लबले यस अघि राजनीतिक व्यक्तित्व तथा समाजसेवी स्व. गिरिराज कुमारी प्रसाई, झापाको पहिलो महिला प्रधानाध्यापक शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायको पहिलो महिला पाइलट जिना लिङ्देनलाई क्लबले सम्मान गरिसकेको क्लबकी सचिव संगीता गिरीले जानकारी दिइन् ।