पहिलो ओलम्पियन महिला मेनुका राउतलाई सम्मान गरिने
बिर्तामोड । पहिलो झापाली ओलम्पियन महिला मेनुका राउतलाई सम्मान गरिने भएको छ । राउतलाई वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवले ‘उत्कृष्ट नारी सम्मान’ प्रदान गर्ने भएको हो ।
नारी दिवसको अवसरमा फागुन २२ गते बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी ओलम्पिक खेलमा पहिलो पटक एथलेटिक्स खेलका लागि सहभागी राउतलाई सम्मान गर्न लागिएको आज पत्रकार भेटघाट गरि जानकारी दिइयो ।
मेचीनगर ७ झापा निवासी मेनुका सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा पहिलो पटक सहभागी भएकी थिइन् ।
मेनुकाले १२ वटा अन्तर्राष्ट्रिय तथा ६ वटा राष्ट्रिय एथ्लेटिक्स खेलमा सहभागी भएर विभिन्न पदक प्राप्त गरेकीछन् । उनले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गर्न लागिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिइन् ।
सम्मान कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङ रहने आयोजकले जनाएको छ । झापामा रहेका जेसीज शाखाहरु र चार दर्जन बढी महिला संघसंस्थाहरु कार्यक्रमको सहआयोजक रहने बताइएको छ ।
सन २००४ मा स्थापित वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लब सन् २०२१ मा स्थापना भएको हो । यस अघि राजनीतिक व्यक्तित्व तथा समाजसेवी स्व. गिरिराज कुमारी प्रसाई, झापाको पहिलो महिला प्रधानाध्यापक शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायको पहिलो महिला पाइलट जिना लिङ्देनलाई क्लबले सम्मान गरिसकेको क्लबकी सचिव संगीता गिरीले जानकारी दिइन् ।
पूर्व अध्यक्षहरुको सक्रियतालाई निरन्तरता राख्ने उद्धेश्यले गठित क्लबमा १८ जना पूर्व अध्यक्षहरु आवद्ध रहेका छन्