स्थानीय तहको कार्य सम्पादन कमजोर
बिर्तामोड । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रकाशित गरेको छ । आयोगले प्रकाशित गरेको विवरण अनुसार अधिकांश पालिकाको कार्यसम्पादन कमजोर देखिएको छ ।
आयोगले गत आर्थिक बर्षको कार्य सम्पादन मूल्याङ्कन प्रकाशित गरेको हो । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन प्रकाशित गरेको आयोगले जनाएको छ । आयोगले विभिन्न १६ वटा सूचकहरूको आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरेको हो ।
झापाका अधिकांश पालिकाहरूको कार्यसम्पादन कमजोर देखिएको छ । आयोगले निर्धारण गरेको विभिन्न सूचकहरूको ७६ अङ्कमध्ये झापाका कुनै पनि पालिकाले ५० प्रतिशत अङ्क प्राप्त गर्न सकेका छैनन् ।
झापाका १५ पालिकामध्ये बिर्तामोड नगरपालिकाले सबैभन्दा बढी ३७.४३ अङ्क प्राप्त गरेको छ । यो ४९.२५ प्रतिशत हो । त्यस्तै कचनकवल गाउँपालिकाको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएको छ । कचनकवलले १७.४४ अङ्कमात्र प्राप्त गरेको छ । यो २२.९४ प्रतिशत हो ।
आयोगले गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धी गाउँ तथा नगरसभामा पेश गरेको÷नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत् सम्बन्धी विवरण २०८० कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, स्थानीय तहको आर्थिक वर्ष २०७९/८० को विनियोजित रकम अनुसार खर्चको अवस्था, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे/नगरेको, आर्थिक वर्ष २०७९/८० मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात, २०७८/७९ को लेखा परीक्षणबाट औल्याएको बेरुजुको अवस्था आदिलाई सूचकको रुपमा राखेर अङ्कभार तोकेको थियो । सोही अङ्कभारको आधारमा आयोगले देशका ७५३ वटै स्थानीय तहहरूको मूल्याङ्कन गरेको जनाएको छ ।