२०८३ बैशाख २० गते , आईतबार

व्यवसायीक हितमा सतिसाल बनेर खडा हुन्छु : डिल्ली कोइराला

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १३ गते , आईतबार
व्यवसायीक हितमा सतिसाल बनेर खडा हुन्छु : डिल्ली कोइराला

बिर्तामोड । सोमबार हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायीहरुले उम्मेदवारको क्षमता र योग्यता केलाउन थालेका छन् । नगर उद्योग वाणिज्य संघको रुपमा चौथो कार्यकालका लागि चुनाव हुन लागेको बिर्तामोडमा अबको नेतृत्व युवा, निष्पक्ष र बौद्धिक हुनुपर्ने आम मतदाताहरुको मत छ । 
कोरोना संक्रमणले थिलथिलो बनाएको उद्योग वाणिज्य क्षेत्रलाई पुनः पुरानै लयमा फर्काउन सक्षम नेतृत्वको खोजी गरिरहेका व्यवसायीहरु कुन उम्मेदवारलाई जिताउने भनेर उनीहरुको व्याकग्राउण्डको अध्ययनमा जुट्न थालेका छन् । अब आउने नेतृत्वले व्यवसायीहरुका लागि प्रभावकारी नीति तथा योजना ल्याउन सक्नु पर्ने र त्यसका लागि बौद्धिक नेतृत्वमात्र सक्षम हुनेमा आम व्यवसायी एकमत छन् ।  
व्यवसायीको हितका लागि नेतृत्व जहिलेपनि सतिसाल भएर खडा हुनु पर्ने र उनीहरुको समस्या समाधानका लागि जतिबेलापनि तयार हुनु पर्ने धारणा बोकेका बिर्तामोडका युवा व्यवसायी डिल्लीराम कोइराला सदस्य पदका उम्मेदवार हुन् । 
मेचीनगरमा २०४० सालमा जन्मिएका कोइराला दुई दशकदेखि उद्योग वाणिज्य क्षेत्रमा आबद्ध छन् । सबै व्यवसायीमाझ चिनिएका कोइरालाले स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । 
कोइराला मेचीनगरस्थित जनता पेन्टस प्रालिका सञ्चालकहरु मध्ये एक हुन् । उनले लामो समयदेखि बिर्तामोडमा एपोलो पेन्टसको अधिकृत विक्रेताको रुपमा काम गरिरहेका छन् । व्यवसायीहरु बिच समदुरी कायम गर्ने र व्यवसायीक हितका लागि विभिन्न गतिविधीमा संलग्न रहँदै आएका कोइराला सुगम शान्ति टोल विकास संस्थाका उपाध्यक्ष समेत हुन् । 
विभिन्न सामाजिक संघसंस्थामा कृयाशिल कोइराला कृष्ण प्रणामी युवा समाजका प्रतिनिधीको रुपमा सामाजिक क्षेत्रका सक्रिय छन् । 
व्यवसायीहरुको मर्मलाई गहिराईबाट बुझेका कोइरालाले आफुलाई बिर्तामोड उद्योग वाणिज्य संघको सक्षम उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आम मतदातालाई आफुलाई विजयी गराउन अपिल गरेका छन् ।

सम्बन्धित समाचार