प्रतिष्ठानमा गौरीशंकर खड्काको चर्चा
बिर्तामोड । स्वर्गीय गौरीशंकर खड्का (क. राजेन्द्र)लाई सालिन नेताको रुपमा चर्चा गरिएको छ । खड्काको १३औँ स्मृति दिवसको अवसरका वक्ताहरुले उनको योगदान र स्वभावको चर्चा गरेका हुन् ।
गौरीशंकर खड्का (क. राजेन्द्र) स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको स्मृति दिवस तथा साधारणसभाका अधिकांश वक्ताहरुले उनको सालिताको खुलेर चर्चा गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव)ले पूर्वमा खड्काले नेतृत्व गरेकै कारण माओवादी संगठन र आन्दोलनले गति लिनसकेको बताए । पार्टीले उनको सँधै अभाव महशुस गरिरहेको खनालले बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा शहिद प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष धर्मशिला चापागाईले गौरीशंकर अत्यन्तै निष्ठावान नेता भएको बताइन् । ठूलालाई सम्मान र कार्यकर्ताहरुसँगको सहकार्य खड्काबाट सिक्न योग्य रहेको उनले बताइन् । आर्थिक अभावमा पार्टी चलाउन गाह्रो परेको बेला खड्काले आफ्नो जग्गा बेचेरसमेत सहयोग गरेको उनले स्मरण गरिन् । खड्काले गरेको कामको उजागर गर्नुपर्ने चापागाईले धारणा व्यक्त गरिन् ।
पार्टीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज झलकसिं दर्लामी (सन्देश)ले खड्काको योगदानको चर्चा गर्दै खड्काको निधनले पूर्वमा नेतृत्वको संकट परेको धारणा राखे । माओवादीले अगाडी सारेको एजेण्डा र उपलब्धीलाई संस्थागत गर्न सक्नु नै खड्काप्रतिको सच्चा सम्झना र सम्मान हुने दर्लामीको भनाई छ ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद दुर्गा चापागाईले माओवादी आन्दालनमा महत्वपूर्ण भुमिका रहेको बगाले लगायतका घटनाहरुलाई स्थापित गर्न नसकिएको बताए । उनले खड्काको सालिनता र पार्टीप्रतिको प्रतिबद्धता अनुकरणीय रहेको बताए ।
खड्काको परिवारका तर्फबाट बोल्दै दाजु ठगबहादुर खड्काले स्मृति सभाले मात्र गौरीशंकरको सम्मान नहुने बताउँदै माओवादीले जनयुद्ध शुरु गर्नु अघिसारेका एजेण्डा पूरा गर्नतर्फ लाग्नु पर्ने सुझाए ।
विसं. २०१६ सालमा तेह्रथुमको साविक इसिबु २ ज्यामिरेमा जन्मिएका खड्काले इतिहासमा स्नातकोत्तर गरेका थिए । उनले २०३६ देखि माले निकट विद्यार्गी संगठनमा आबद्ध भई सक्रिय राजनीति शुरु गरेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित खड्काको बोनम्यारो क्यान्सरका कारण २०६७ साल फागुन ९ गते काठमाण्डौको बीएण्डबी हस्पिटलमा निधन भएको थियो ।