कनकाई नगरमा चरम बेतिथी : पालिकाको बाइकमा कलेज सरर
बिर्तामोड । झापाको कनकाई नगरपालिकाको दुई पाङ्ग्रे सवारी साधन चरम दुरुपयोग हुने गरेको पाइएको छ । पालिकाको बाइक कर्मचारीहरुले नीजि काममा दुरुपयोग गर्ने गरेको पाइएको हो ।
पालिकाका आइटी अफिसर खगेन्द्र मिश्र र रोजगार शाखामा कार्यरत सब इन्जिनियर मनिष चौहान नगरपालिकाको बाइकमा कलेज पढाउन जाने गरेको पाइएको हो ।
कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मे १ब ८८२ नम्बरको यामहा कम्पनीको मोटरसाइकल मिश्रले प्रयोग गर्ने गरेको छन् । चारपाने निवासी उनी कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा टेक्निकल कोअर्डिनेटरको रुपमा कार्यरत छन् ।
त्यस्तै पालिकाका सब इन्जिनियर चौहानपनि सो इन्स्टिच्युटमा पढाउने गरेका छन् । चौहानले इन्स्टिच्युटमा पढाउने गरेको कोअर्डिनेटर मिश्रले पुष्टि गरे । उनले नगरपालिकाको प्र १–०१–००१ ब १०६३ नम्बरको यामहा कम्पनीको मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।
उनीहरु इन्स्टिच्युटमा जाँदा सोहि मोटरसाइकल लिएर जाने गरेको पाइएको हो । मंगलबार परिवेश मिडियाको निगरानीको क्रममा दुवैवटा सवारी साधन इन्स्टिच्युटको प्राङ्गगणमा पाइएको छ ।
कनकाई नगरपालिकामा सवारी साधन प्रयोग तथा सञ्चालनसम्बन्धि निर्देशिका नबनाई सवारी साधन सञ्चालन भइरहेको छ । स्पष्ट निर्देशिका नभएका कारण कुन काममा सरकारी सवारी साधन प्रयोग गर्ने कुनमा नगर्ने बारे भन्न नसकिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । नीजि कामका लागि सरकारी सवारी साधन प्रयोग गर्न पाइन्छ ? भन्ने प्रश्नमा अधिकृत खरेलले गैरजिम्मेवार जवाफ दिए । उनले भने, ‘त्यो त पाइन्छ पनि पाइँदैन पनि मैले केहि भन्न सकिन ।’
यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कार्यालयको प्रयोजनबाहेक पालिकाको सवारी साधन प्रयोग गर्न नहुने र गरेको पाइए त्यसलाई रोक्ने बताए ।
यस अघिपनि कनकाईको मोटरसाइकलमा कर्मचारीले नक्कली नम्बर प्लेट राखेर कुदाएको पाइएपछि प्रहरीले पक्राउ गरेको र यातायात व्यवस्था कार्यालयले जरिवाना गरेर छाडेको थियो ।