२०८३ बैशाख २० गते , आईतबार

गलत समाचारको पछि नलाग्न आग्रह

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
गलत समाचारको पछि नलाग्न आग्रह

बिर्तामोड, । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा गलत प्रचारको पछि नलाग्न लोकतान्त्रिक व्यवसायीक प्यानलका उम्मेदवारले आम मतदातालाई आग्रह गरेका छन् । उनीहरुले पार्टीका नेता र भ्रम फैलाउने नियोजित समाचारका पछि नलागेर बजारमा उठान भएका विषयवस्तुबारे सत्यतथ्य बुझ्न समेत मतदातामाझ आग्रह गरेका छन् ।

लोकतान्त्रिक व्यवसायीक प्यानलले फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा बिहीबार सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा बोल्दै कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईले गलत प्रचारको पछि नलाग्न आम मतदातालाई आग्रह गरेका हुन् । उनले वाणिज्य संघको वर्तमान कार्यसमितिले व्यवसायीको हकहितका लागि इतिहासमै सबैभन्दा बढी संघर्ष गरेको बताए ।

व्यवसायीहरु अध्यारोमा भए । बिजुली बाल्ने एउटा मिटरबक्स दिनुपर्यो भनेर बिर्तामोड नगरपालिकामा निवेदन बोकेर जाँदा वर्तमान उम्मेदवार राजु न्यौपानेसहितका वाणिज्य संघका पदाधिकारीहरु प्रहरीको हिरासतमा बस्नुपर्यो उनले भने । 

उनले लोकतान्त्रिक व्यवसायिक प्यानलको जितको विकल्प नरहेको बताए । ‘बिर्तामोड नगरपालिकाले ‘व्यवसायी मारा नीति लिएको छ । हाटबजार भत्काएर, मुद्दा मामिला गरेर व्यवसायीलाई विस्थापित गरिरहेको छ । त्यसमाथि जथाभावी कर लगाउने र कर पनि आफूखुसी वृद्धि गरेर व्यापारीलाई व्यापार व्यवसायी नै गर्न नसक्ने अवस्था बनाइरहेको छ उनले भने,‘यस्तो अवस्थामा व्यवसायीको पक्षमा बोल्ने, प्रहरीको लाठीचार्ज खान सक्ने र हिरासतमा समेत बस्न सक्ने वाणिज्य संघ चाहिएको छ । त्यसका लागि लोकतान्त्रिक व्यवसायीक प्यानलको विकल्प छैन् ।

कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनालीले बिर्तामोड नगरपालिकाबाट नगरभित्रका व्यवसायी कति पीडित छन् ? भनेर स्पष्ट रहेकाले त्यसविरुद्ध व्यवसायीको आवाज उठाउने नेतृत्वलाई मत दिन आग्रह गरे । क्षेत्र नम्बर २ (क) का सभापति लक्ष्मी आचार्यले बिर्तामोड नगरपालिकाले पटकपटक विवाद र अवरोध खडा गरेपनि वाणिज्य संघको नेतृत्वले सबैखाले समस्याहरु सामना गर्दै व्यवसायीको हितमा काम गरेको बताए ।

पूर्व जनप्रतिनिधि कुलप्रसाद संग्रौलाले वाणिज्य संघ राजनीति गर्ने थलो नभएको बताए । उनले पार्टीगत सहयोग भएपनि पार्टीको निर्देशन नै लागू गर्न खोज्नु व्यवसायीको हित विपरित हुने तर्क गरे  । उनले लोकतान्त्रिक व्यवसायीक प्यानलमा पार्टीको सहयोग भएपनि निर्देशन र आदेश नै पालना गर्नुपर्ने अवस्था नरहेको बताए । ‘वाणिज्य संघको नेतृत्वलाई पार्टीको निर्देशन र आदेश लाद्ने काम भयो भने व्यवसायीको हकहितमा काम हुदैन । अहिले वाणिज्य संघको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका दुइटा प्यानलमध्ये कुन प्यानललाई पार्टीको ठाडो निर्देशन र आदेश लागू हुन्छ त्यो सबै मतदाताले राम्रोसंग बुझेका छन् उनले भने ।

निर्वाचन प्रचार प्रसार समितिका संयोजक बलराम कार्कीले वाणिज्य संघको विरोधका बीच बिर्तामोड नगरपालिकाले अहिले अचाक्ली कर वृद्धि गरेर व्यवसायीलाई व्यापार नै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए ।     

सम्बन्धित समाचार