ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्ति–३ सात नम्बर चोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि स्थानीय २३ बर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको हो ।
शनिबार पौने ७ बजे चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको ट्रिपर आपसमा ठोक्किँदा मोटरसाइकल चालक पौडेलको दाहिने हात र छातीमा चोट लागि गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा सवा सात बजे मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
मोटरसाइकलको पछाडी सवार स्थानीय २१ बर्षीया लिला गौतम घाइते भएको र बीएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रिपर चालक फरार रहेका छन् ।