नयाँ वृद्धाश्रममा पाठक परिवारको सहयोग
बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित नयाँ वृद्धाश्रममा पाठक परिवारले सहयोग गरेका छन् । तारा नमस्ते बाल आश्रमसँगै रहेको गुरुप्रसाद डिकमाया फाउण्डेशनले सञ्चालन गरेको वृद्धाश्रममा बिर्तामोड ३ स्थित पाठक परिवारले खाद्यान्न सहयोग गरेका हुन् ।
यज्ञप्रसाद पाठकको १६औँ दिनको पुण्य तिथीमा श्रीमती दिव्येश्वरा र पुष्प पाठकले वृद्धाश्रममा १५ केजी चिनी, २५ केजी चामल र २० केजी आँटा सहयोग गरेका हुन् । उनीहरुले वृद्धाश्रममै पुगेर फाउण्डेशनका अध्यक्ष गुरुप्रसाद ओझालाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । आफ्ना पितृको चिर शान्तिको कामना गर्दै मानवीय सेवाका लागि सानो भएपनि सहयोग गरेको छोरा पुष्प पाठकले बताए ।
बिर्तामोड १ किलोमिटरस्थित परोपकार वृद्धाश्रम तथा अनुसन्धान केन्द्रका संस्थापक गुरुप्रसाद ओझाले स्थापना गरेको फाउण्डेशनले पुनः अर्को वृद्धाश्रम सञ्चालनमा ल्याएको हो । आश्रमको औपचारिक उद्घाटन हुन बाँकि छ ।