मेची आँखा अस्पतालको २७औँ बार्षिकोत्सव सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालले २७औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । शुक्रबार अस्पताल परिसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी अस्पतालले बार्षिकोत्सव सम्पन्न गरेको हो ।
मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी र आँखा दान गर्नेको परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
गएको बर्ष १ लाख ९८ हजार जनाले अस्पतालमा र ८२ हजार जनालाई विभिन्न शिविर माध्यम ओपीडी सेवा दिइएको अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिए । त्यस्तै ३७ हजार जनाको शल्यक्रिया गरिएको र सो मध्ये ६० प्रतिशत शल्यक्रिया मोतियाविन्दुको गरिएको उनले बताए । अतिविशिष्ट शल्यक्रिया मध्ये ७ हजार दुई सय जनाको रेटिनाको शल्यक्रिया गरिएको थियो । स्वास्थ्य बीमा अन्तर्गत ५१ हजार ९१४ जनाको उपचार गरिएको र ५४ लाख रुपैँया बराबरको निःशुल्क उपचार गरिएको जोशीले जानकारी दिए ।
बार्षिकोत्सवको अवसरमा चस्मा लगाउनु पर्ने बिरामीका लागि चस्मा लगाउन नपर्ने कोर्निया एण्ड रिफ्रयाक्टिभ युनिटको शुरुवात गरिएको थियो । त्यस्तै बालबालिकाको आँखा उपचारका लागि पेडियाट्रिक आइ क्लिनिकसमेत सञ्चालनमा आएको छ ।
कार्यक्रममा प्राडा मिनु चौधरी, प्रदेश सांसद एकराज कार्की, मात्रिका आइ सेन्टरका किशोर प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सचिव गणेश पोखरेलले सञ्चालन गरेका थिए ।