कृषि बजार व्यवस्थापन समितिको निर्वाचन गराउन एमालेको माग
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन गराउन नेकपा एमाले झापाले आग्रह गरेको छ ।
बुधबार तेस्रो पटक निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएपछि नेकपा एमाले जिल्ला कमिटी झापाका सचिव शिव ढुंगेलले प्रेस विज्ञप्ति जारी निर्वाचन समितिलाई तुरुन्त आफ्नो निर्णय सच्याउँदै निर्वाचन गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘माघ २४ गते पुनः निर्वाचन गराउने निर्वाचन समितिको निर्णयलाई सर्वदलीय बैठकको नाटक मञ्चन गरी नेकपा (एमाले) बाहेक वर्तमान सत्ता गठबन्धन र राप्रपा समेतले निर्वाचन नगर्न भनेको आधारमा षड्यन्त्रपूर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालीन रुपमा निर्वाचन स्थगन गरेको छ । हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्र्सना गर्दछ । नेपाली कांग्रेस सत्ता गठबन्धनलगायत कृषिथोक बजार व्यवस्थापन समितिको निर्वाचनका क्रममा बनेको अघोषित गठबन्धनको यो निर्लज्ज व्यवहार र निर्णयको बन्दी बनेको निर्वाचन समितिले तुरुन्त आफ्नो निर्णय सच्याउँदै निर्वाचन गर्न आग्रह गर्दछौ ।’
साथै निर्वाचन प्रक्रिया अगाडि नबढाएको खण्डमा आन्दोलन तथा कानुनी उपचारका लागि नेकपा एमाले अघि बढ्ने विज्ञप्तिमा चेतावनीसमेत दिइएको छ ।