सहकर्मीको कुटपिटबाट पाथीभरा ब्लक उद्योगका मजदुरको मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत मजदुरको सहकर्मीको कुटपिटबाट मृत्यु भएको छ । पाँचथर याङवरक–६ घर भइ सो उद्योगमा मजदुरी गर्ने बिक्रम सेनेहाङको मृत्यु भएको हो ।
शुक्रबार साँझ ७ः५० बजे सोहि उद्योगमा कार्यरत शिवसताक्षी ८ पोखरी टोल घर भएका १९ बर्षीय मिलन पुरकोटीले सामान्य विवादमा सेनेहाङलाई काठको मुङ्ग्रो र फलामको ह्यामरले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । सहकर्मीको प्रहारबाट गम्भीर घाइते भएका सेनेहाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा थप उपचारका लागि राति साढे ११ बजे नोबेल अस्पताल रेफर गरिएको थियो । राति साढे दुई बजे नोबेल अस्पताल पुर्याइएको उनको उपचारको क्रममा शनिबार बिहान ५ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेनेहाङलाई प्रहार गर्ने पुरकोटीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
मृतकको शव नोबेल अस्पतालमा राखिएको र मृतककी श्रीमती झापा आउँदै गरेको बुझिएको छ ।