२०८३ बैशाख २० गते , आईतबार

कनकाईमाथि नगरबासीका प्रश्नै प्रश्न, एउटै बिषयमा बजेटका दुई शीर्षक किन?

sajilo news
परिवेश मिडिया
२०८० माघ १६ गते , मंगलबार
कनकाईमाथि नगरबासीका प्रश्नै प्रश्न, एउटै बिषयमा बजेटका दुई शीर्षक किन?

बिर्तामोड । कनकाई नगरपालिकामाथि नगरबासीले अनेकन प्रश्न तेर्स्याएका छन । मङ्गलबार पालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले बिबिध बिषयमा प्रश्न गरेका हुन ।
स्थानीय तहले चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने भएपनि सात बर्षपछि कनकाईमा पहिलो पटक कार्यक्रम भएको भन्दै नेपाली कांग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कडेलले प्रश्न गरे । उनले सहज रुपमा पालिकाबाट सुचना उपलब्ध नहुने भन्दै गुनासोसमेत गरे । सन्तोष सुस्केराले एउटै बिषयमा दुईवटा शिर्षकमा बजेट बाँडिनुको कारण माग गरे । उनले बजेट छरिँदा नगरबासी खुसी भएपनि त्यसको उपलब्धि माथि प्रश्न गरे । चन्द्रप्रसाद घिमिरेले लक्षित किसानले राहत नपाएको भन्दै गुनासो गरे । दिननाथ खतिवडाले सडक बत्तीको मर्मत नभएको र नगरको पैसा दुरुपयोग भएको भन्दै नगरका बिषयमा अनेकन नकारात्मक टिप्पणी आउनुको कारण माग गरे ।
सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित क्षेत्रको रुपमा सम्मानित नगरमा यत्रतत्र त्यस्ता वस्तुको बिक्री भैरहेको भन्दै अनुगमन र नियन्त्रणमा नगरपालिकाको भुमिका के हुने भन्दै रमेशप्रसाद मैनालीले जिज्ञासा राखे । उनले कर्मचारीले सरकारी बाइकमा नक्कली नम्बर प्लेट प्रयोग गरेको बिषयमा पालिकाले के कारबाही गर्यो भन्दै उत्तर माग गरे ।
नगरबासी नन्दकुमार चुडाल, खेम शिवाकोटी, यामनाथ सेढाई, सरोज घिमिरे, पत्रकारहरु प्रदिप परियार, लिलाराज झापाली र राम निरौलाले विभिन्न बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका बिषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, विभिन्न शाखाका प्रमुखहरुले उत्तर दिएका थिए ।
सूर्योदय टेलिभिजनले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेकी थिइन । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगरको हालसम्मको गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रम टेलिभिजनका उमाकान्त खनाल र केशव भण्डारीले संचालन गरेका थिए । 

सम्बन्धित समाचार