कोशीसहित चार प्रदेशमा आज हिमपातको सम्भावना
बिर्तामोड । आज कोशीसहित बागमती, कर्णाली र गण्डकी प्रदेशका जिल्लाहरूमा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।
यस्तै आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।