काँकरभिट्टास्थित ट्राफिक पोष्ट हस्तान्तरण
बिर्तामोड । झापाको काँकरभिट्टामा निर्माण गरिएको ट्राफिक प्रहरी पोष्टको भवन हस्तान्तरण गरिएको छ । बिहीबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रमका बिच नव निर्मित भवन हस्तान्तरण गरिएको हो ।
भवन निर्माण समितिका अध्यक्ष मुक्ती पौडेलको अध्यक्षता तथा संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको थियो । गत भदौ ६ गते भवन शिलन्यास गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर–६ स्थित पुरानो भन्सारमा अर्थमन्त्रालय मातहतमा रहेको करिब १ कठ्ठा ७ धुर क्षेत्रफलमा करिब २६ फुट चौडाई तथा ४६ फुट लम्बाईको उक्त भवन निर्माण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार निमार्ण भएको भवनको कूल लागत २२ लाख रुपैयाँ रहेको छ । भवनमा आवास, कार्यालय, मिटिङ हल, कर्मचारी र पब्लिकका लागि अलग अलग शौचालय रहेको उनले जानकारी दिए । भवन तीन तलासम्म थप्न सकिने गरी संरचना तयार गरिएकोछ । स्थानीयबासी तथा व्यवसायीहरुको सहयोगमा भवन निर्माण गरिएको पौडेलले बताए । अत्यन्तै कष्टपूर्ण अवस्थामा ट्राफिक प्रहरीले काम गर्नु परिरहेका कारण भवन निर्माणमा आफुहरु जुटेको उनले बताए ।