‘पूर्णबहादुरको सारंगी’ बाट विजय बरालले सवा करोड बोनस पाउने

झापा । सर्वाधिक मन पराइएको र बक्स अफिसमा इतिहासमा २५ करोड मुनाफा कमाएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का प्रमुख कलाकार अभिनेता विजय बरालले सवा करोड वोनस पाउने भएका छन् । न्यून पारिश्रमिक लिएर शेयरमा काम गरेका बरालले चलचित्रले आर्जन गरेको मुनाफाको ५ प्रतिशत बोनस पाउने भएका हुन् ।
सामान्यतया कलाकारहरुले कुनै पनि चलचित्रमा पारिश्रमिक लिएर काम गर्छन् । चलचित्रको व्यापारिक नाफा-घाटाले उनीहरुलाई असर गर्दैन । न चलचित्र डुब्दा उनीहरुलाई आर्थिक क्षति हुन्छ, न ब्लकबस्टर हुँदा आर्थिक लाभ । यद्यपि, पछिल्लो समय चलेका केही कलाकारहरुले ‘सेयर’ मा काम गर्ने अभ्यास गर्न थालेका छन् । विजय बरालले पनि यही गरेका थिए ।
चलचित्रका निर्माता विनोद पौडेलका अनुसार बरालले यो चलचित्रबाट सवा एक करोड रुपैयाँको मुनाफा सेयर पाउने भएका छन् । उनले चार लाख रुपैयाँ पारिश्रमिक र ५ प्रतिशत सेयरमा काम गरेका थिए । चलचित्रले नेपालमा ५० करोड र विदेशमा २३ करोडमाथि बक्स अफिस कलेक्सन गरेपछि बरालले करोडमाथि रकम मुनाफा सेयर पाउने निश्चित भएको हो ।
पौडेलले भने, ‘उहाँ चार लाख मात्रै पारिश्रमिक लिएर ५ प्रतिशत मुनाफा सेयरमा बस्न राजी हुनुभएको थियो । कथा मन परेकाले उहाँ आफ्नो रेटभन्दा न्यून पारिश्रमिकमै खेल्न तयार हुनुभएको हो । चलचित्रले मुनाफा कमाएमा उहाँले ५ प्रतिशत पाउने सम्झौता छ ।’
थोरै पारिश्रमिक लिएर ५ प्रतिशत शेयरमा काम गर्ने बरालको निर्णय अन्ततः फलदायी सावित भएको छ । चलचित्रले करिब २५ करोड रुपैयाँ नेट मुनाफा कमाएको हिसाब निर्माताले निकालेका छन् । २५ करोडको ५ प्रतिशत भनेको १ करोड २५ लाख हुन्छ ।
निर्माता पौडेलले चलचित्रमा संलग्न प्राविधिकलाई पनि केही बोनस बाँड्ने योजना बनाएको बताए ।