सप्तक संगीत विद्यालयद्वारा नारायण गोपाल स्मृति साँझ सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड–५ मा अवस्थित सप्तक संगीत विद्यालयले ३४औँ नारायण गोपाल स्मृती तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार साँझ कनकाई स्कुलको हलमा कार्यक्रम सम्पन्न गरेको हो ।
स्वर्गीय स्वर सम्राट नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा प्रशिक्षक सरोज वत्सले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नारायण गोपालका विभिन्न गीत प्रस्तुत गरेका थिए भने भारत सिक्किम तथा दार्जिलिङबाट आएका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार केशव आचार्य, संगीतकार विकास चौधरी, चलचित्र निर्माता तथा निर्देशक केवल तामाङ र युवा गायक अपन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
शिक्षक अभिभावक संघका सदस्य गीता तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई इलाम झापा मैत्री समाज, ट्रष्ट टीम नेपाल, गोल्डेन नेपाल र जयपुर बोर्डिङ स्कुलले सहआयोजना गरेका थिए ।
कनकाई क्याम्पस प्रमुख सुरेश चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सत्यनारायण तायल, गायक हस्त परियार, साहित्यीक व्यक्तित्व देविभक्त श्रेष्ठलगायत करिब २ सय जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रम पुरुषोत्तम ढुङ्गेलले सञ्चालन गरेका थिए ।