गृहमन्त्री लामिछाने विरुद्धको मुद्धामा आज फैसला हुने सम्भावना
काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ ।
सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ । सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निणर्य दिने छ ।
गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कणर् वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो । सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो । आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाललगायतले बहस गर्ने छन् । उनीहरूको बहसपछि रिट निवेदक अधिवक्ता भट्टराई र रमण कणर्ले जवाफी बहस गर्ने तयारी गरेका छन् ।