बिर्तामोड नगर स्काउटले मनायो स्थापना दिवस
बिर्तामोड । बिर्तामोड नगर स्काउटले ७२औं नेपाल स्काउट स्थापना दिवस मनाएको छ । नगर स्काउटले प्रभातफेरीसहित वृक्षारोपण गरेर स्थापना दिवस मनाएको हो ।
महेन्द्र रत्न माविबाट शुरु भएको प्रभातफेरी विर्ताबजार परिक्रमा गरि विराटपोखरीमा वृक्षारोपण गरेर समापन भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख स्काउट नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, विराट सरोवर बहुउद्देश्यीय विकास समितिका पदाधिकारीहरु, स्काउट सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्मा, स्काउटरहरु, रोभर रेन्जर, विभिन्न ट्रुपका स्काउटहरुको उपस्थिती थियो ।
त्यस्तै कार्यक्रममा हाल विर्तामोड क्षेत्रका १५ वटा विद्यालयहरुमा स्काउट कक्षा संचालन रहेकोमा महेन्द्र रत्न स्काउट ट्रुप, देवी, दुर्गा, मोहनमाया, विराट, विराटज्योती, कंचनजङ्गा, मनकामना, ग्लोरी, एमिटी स्काउट ट्रुपका स्काउट तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
नेपाल स्काउटको स्थापना २००९ साल असार ५ गते भएको हो । स्काउट एक स्वयंसेवी सामाजिक संस्था भएकाले वृक्षारोपण, विपत व्यवस्थापन, राहत तथा उद्दार, सचेतता अभियान जस्ता कार्य गर्ने गर्दछ । पछिल्लो समयमा बिर्तामोड नगर स्काउट तथा नगरपालिकाले सबै विद्यालयमा स्काउट कक्षा अनिवार्य गराउने अभियानमा लागेको छ ।