कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रवेश परीक्षा अब इटहरीमा
झापा । कृषि, पशु चिकित्सा, मत्स्य तथा वन विज्ञान अध्ययन गर्न चाहने पूर्वी नेपालका विद्यार्थीका लागि यो वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयको सुनसरीको इटहरीमा पनि प्रवेश परीक्षा लिने भएको छ ।
यसअघि काठमाडौं र चितवनमा मात्र हुँदै आएको प्रवेश परीक्षा केन्द्र इटहरीको जनता क्याम्पसमा पनि सञ्चालन हुने भएपछि पूर्वी नेपालका विद्यार्थीलाई सहज भएको हो
विश्वविद्यालयले यसअघि विभिन्न वर्षमा सीमित स्थानमा प्रवेश परीक्षा सञ्चालन गर्दै आएकोमा शैक्षिक सत्र २०८३-८४ का लागि इटहरीलाई पनि प्रवेश परीक्षा केन्द्रका रूपमा समावेश गरेको हो। विश्वविद्यालयको आधिकारिक प्रवेश सूचना अनुसार रामपुर चितवन, हेटौंडा, काठमाडौं, जनकपुर, इटहरी र नेपालगञ्जमा परीक्षा केन्द्र तोकिएको छ।
इटहरीमा परीक्षा केन्द्र तोकिएपछि कोशी प्रदेशसहित पूर्वी नेपालका विद्यार्थीलाई प्रवेश परीक्षाका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता हुनेछैन । सुनसरीको इटहरीस्थित जीवीका कृषि कलेजका व्यवस्थापक शिवकुमार डाँगीले पूर्वमै प्रवेश परीक्षा सञ्चालन हुँदा कृषि तथा सम्बन्धित विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई ठूलो सहजता हुने बताए।
“पूर्वका विद्यार्थीले चितवन वा काठमाडौं गएर प्रवेश परीक्षा दिनुपर्ने बाध्यता कम हुन्छ। आफ्नै क्षेत्रनजिक परीक्षा केन्द्र हुँदा विद्यार्थी र अभिभावक दुवैलाई खर्च तथा समय बचत हुन्छ,” डाँगीले भने। कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालमा कृषि, वन, पशु विज्ञान, भेटेरिनरी तथा मत्स्य शिक्षामा केन्द्रित राज्यको पहिलो प्राविधिक विश्वविद्यालय हो।
इटहरीमा परीक्षा केन्द्र राखिनु भने पूर्वी नेपालका लागि महत्त्वपूर्ण शैक्षिक पहुँच विस्तारका रूपमा हेरिएको छ।
कोशी प्रदेशका साथै मधेशको पूर्वी भूभाग र छिमेकी जिल्लाका विद्यार्थीले समेत इटहरीलाई सहज परीक्षा केन्द्रका रूपमा प्रयोग गर्न सक्नेछन्। विशेषगरी कृषि, पशु चिकित्सा, मत्स्य र वन विज्ञानतर्फ आकर्षित विद्यार्थीका लागि यसले प्रवेश प्रक्रियाको भौगोलिक पहुँच विस्तार गरेको छ।
पूर्वमा कृषि शिक्षाप्रतिको आकर्षण बढिरहेका बेला प्रवेश परीक्षा नै इटहरीमा सञ्चालन गर्ने निर्णयले विद्यार्थीको समय, यात्रा र आर्थिक भार घटाउने अपेक्षा गरिएको छ। अब विश्वविद्यालयले स्थगित प्रवेश परीक्षाको नयाँ मिति र संशोधित तालिका सार्वजनिक गरेपछि पूर्वका विद्यार्थीलाई थप स्पष्टता हुनेछ।
विश्वविद्यालयअन्तर्गत कृषि संकाय, पशु विज्ञान-भेटेरिनरी विज्ञान तथा मत्स्य संकाय र वन संकाय रहेका छन्। स्नातक तहमा B.Sc. Agriculture, B.V.Sc. & A.H., B.Sc. Fisheries र B.Sc. Forestry लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यस वर्ष विश्वविद्यालयले यी चारवटै स्नातक कार्यक्रमका लागि एउटै एकीकृत प्रवेश परीक्षा प्रणाली अपनाएको छ। प्रवेश परीक्षाका आधारमा योग्यताक्रम (मेरिट) तयार गरी विद्यार्थी भर्ना गर्ने व्यवस्था गरिएको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म र प्रवेश परीक्षा भदौ २० गते शनिबार बिहान ९ बजेका लागि तोकिएको छ । इटहरीसहित ६ स्थानमा परीक्षा सञ्चालन गर्ने तयारी छ ।
विश्वविद्यालयका अनुसार प्रवेश परीक्षामा १२० वटा बहुविकल्पीय प्रश्न रहने व्यवस्था छ । अंग्रेजी, प्रवेश परीक्षाका लागि विश्वविद्यालयले अनलाइन आवेदन प्रणाली प्रयोग गरेको छ । आवेदनका क्रममा शैक्षिक प्रमाणपत्र, ग्रेडसिट, परिचय खुल्ने कागजातलगायत आवश्यक विवरण अनलाइन पेस गर्नुपर्नेछ ।
विश्वविद्यालयले कृषि र वनसँगै पशु चिकित्सा तथा मत्स्य शिक्षालाई एउटै शैक्षिक संरचनाभित्र अघि बढाइरहेकाले कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसँग पनि यसको प्रवेश प्रणाली जोडिएको छ। विश्वविद्यालयले आफ्नो शैक्षिक उद्देश्यमा कृषि, पशुपालन, भेटेरिनरी, मत्स्य र वन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा अनुसन्धान र प्रसारलाई प्राथमिकतामा राखेको छ।