वरिष्ठ गायक तथा संगीतकार डा. भण्डारी सम्मानित
बिर्तामोड । वरिष्ठ गायक तथा संगीतकार डा. टीका भण्डारी सम्मानित भएका छन् । ३५औँ नारायण गोपाल स्मृति साँझको अवसरमा शनिबार उनलाई बिर्तामोडमा सम्मान गरिएको हो ।
सप्तक संगीत विद्यालय बिर्तामोड–५ र रामचोक युवा समूह बिर्तामोड–२ ले संयुक्त रुपमा आयोजना गरेको ३५औँ नारायण गोपाल स्मृति साँझमा कार्यक्रमका प्रमुख अतिथी डा. भण्डारीलाई सम्मान गरिएको थियो । उनलाई सप्तक संगीत विद्यालयका संस्थापक अध्यक्ष सरोज वत्स, संरक्षक डा. कुमार सुवेदी र रामचोक युवा समूहका अध्यक्ष राम अधिकारीले खदा र सम्मान पत्रले सम्मान गरेका थिए । रेडियो नेपालको निर्देशकबाट सेवा निवृत्त डा. भण्डारीलाई नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रका नक्षत्र स्वर्गीय नारायण गोपालको स्मृतिमा सप्तक संगीत विद्यालयले प्रत्येक बर्ष उनको स्मृति दिवसको अवसरमा कार्यक्रम गर्दै आएको विद्यालयका संस्थापक अध्यक्ष वत्सले जानकारी दिए ।
शनिवार रामचोकस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा विभिन्न ३२ वटा गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सारेगम लिटल च्याम्प्सका विजेता कृपा पौडेल, भ्वाइस अफ युनिभर्सका उत्कृष्ट प्रतिष्पर्धी अभिजित अधिकारी, भ्वाइस अफ किड्सका फस्ट रनर अप स्मायन बजगाई, डा. भण्डारीलगायतले गीत प्रस्तुत गरेका थिए ।
सप्तक संगीत विद्यालयका संरक्षक डा. सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा गायक पवन गोलेको विशेष आतिथ्यता रहेको थियो । रामचोक युवा समूहका अध्यक्ष राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम गीतकार पुरुषोत्तम ढुंगेल र गायिका रक्षा तिम्सिनाले संचालन गरेका थिए ।